भद्रपुर । झापाको भद्रपुर नगरपालिका- ९ प्रकाशपुरबाट एकाएक गायब भएकी वालिका मृत अवस्थामा फेला परेकी छिन्,। सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको र अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेका थिए। मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन । मन्दिरबाहिर खेल्दाखेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन । बालिकालाई कसैले अपहरण गरेको हुनसक्ने भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए ।

बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो ।

बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । ‘मन्दिर अगाडीको नालामा बालिका डुबेको र पानीले बगाउँदै ५०० मिटर परसम्म शव ल्याएको देखिन्छ । बालिकाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेकाले थप विवरण आउन बाँकी छ।

Facebook Comments Box