विर्तामोड । तराईका विभिन्न जिल्लामा प्रख्यात रहेको भाक्का लाई यहाँका आदिवासी राजवंशी समुदायले आज उत्सवका रुपमा मनाउने गरेका छन्,। भाक्का दिवसमा आज झापाका तीन पालिकाले सार्वजनिक विदा दिएका छन् ।

आदिवासी राजवंशी समुदायको बिशेष खाजाको परिकारका रुपमा लिइने भक्का अर्थात भाक्काको प्रबर्द्धनका लागि हरेक बर्ष पुष २९ गते झापामा उत्सवको रुपमा मनाइने भाक्का दिवसको अवसर पारेर झापाका कचनकवल गाउँपालिका, हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले आज विदा दिने निर्णय गरेका हुन् ।

उक्त दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने, वडा कार्यालय र विद्यालयहरु समेत विदा दिने निर्णय गरेको तीनै वटा पालिकाले सूचनामार्फत जानकारी गराएका छन । यो बर्ष झापाका विभिन्न ठाउँमा भाक्का दिवस मनाइने भएको छ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला, भद्रपुरस्थित सिटि गार्डेन र बाह्रदशीमा भाक्का दिवस भब्य रुपमा मनाउन लागेको जनाइएको छ ।

चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो।पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य समुदायले पनि रुचाएपछि भक्का खाने प्रचलन बढेको छ।कोच राजवंशी समुदाय बाहिर पनि यो परिकार प्रचलनमा आएपछि भाक्काको व्यवसायीक प्रबर्द्धन गरेको पाइन्छ। खानेकुरामा सिमित रहेको भाक्का यतिबेला राजवंशी समुदायको पहिचानसँग समेत जोडिएको देखिन्छ।

Facebook Comments Box