झापा । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा न्यूरो टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारको यात्रा निश्चित गरेको हो ।

अत्यन्तै रोमाञ्चक बनेको खेलमा पहिलो हापको ३६ औं  मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी अवयामीले गोल गरे । उनको गोल नै चर्च ब्वाइजको आगामी यात्राको लागि निर्णायक बन्यो । उनले सञ्जित राईको पासमा गोल गरेका थिए ।

दोस्रो हापमा एनआरटीले चर्च ब्वाइजलाई केही दबाबमा राखेपनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो ।

मंगलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका गोलका लागि उत्कृष्ट पास निकाल्ने सञ्जित राई घोषित  भए । उनले नगद ११ हजार प्राप्त गरे ।

बुधबारको तेस्रो क्वाटरफाइनल खेल विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लब बिच हुने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने छ।

Facebook Comments Box