मेचीनगर । झापाको मेचीनगरमा पहिलो पटक मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया-२०८०’ सुरु भएको छ । मेचीनगर खेलकुद विकास समितिले काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमबीच प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले दीप प्रज्वलन गर्दै उद्घाटनपछि शुभारम्भ भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङलाई खेलाडीले मार्चपाससहित सलामी दिएका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो । लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल र टेकनाथ पराजुलीलाई प्रमुख अतिथि तामाङले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

फुटबल बक्सिङ र तेक्वान्दो, सामुदायिक भवन काकर्भिट्टामा कराँते, पुर्वेली खेल मैदानमा क्रिकेट, काँकरभिट्टामा खानेपानी हलमा चेस, धुलाबारी माबीमा भलिबल, कवर्डी र ऎथ्लेन्टिक्स खेल प्रतियोगिताको स्थान तयारी गरेको समितिले जनाएको छ ।

१५ वटाबाट प्रतियोगितामा सहभागी खेलाडीहरुले कराँते, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेतीले सम्बोधन गरेका थिए ।
सामाजिक बिकास प्रमुख हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रबिन ओझाले स्वागत गरेका थिए भने वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले संचालन गरेका थिए ।

कार्यक्रममा मेचीनगरका पुर्व नगरप्रमुख विमल आचार्य, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वुर्व झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, डिल्लीराम घिमिरे, नगरका पन्द्रवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत विभिन्न संघसंस्थाका पदाधिकारीको आतिथ्य रहेको थियो ।

चैत ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाले ५३ लाख ७७ हजार बजेट खर्च छुट्याएको छ ।

Facebook Comments Box