झापा । झापाको भद्रपुर- ३ स्थित पृथ्वीनगरको ऐतिहासिक तथा धार्मिकस्थल किचकबध क्षेत्रमा ५ वटा भवनका संरचना भएको पुष्टि भएको छ । देउनियाँ खोला किनारस्थित १० बिगाहा क्षेत्रफलको टिलानुमा स्थलमा साना ठुला गरी ५ वटा भवनका संरचना पाइएको पुरातत्वविद उद्धव आचार्यले बताए ।

सातौँ पटक सम्मको उत्खननमा उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, ठुलो भवनकै केही दक्षिण अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन तथा यी ४ वटा भवनको दक्षिण करिब २ सय फुटको दुरीमा दुई तले अर्को सुरक्षाकर्मीका प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने भवन गरी ५ वटा भवनका संरचना फेला परेका हुन् ।

यी संरचनाबाट धेरै पुरातात्त्विक सामग्री फेला परेका र तिनीहरूको कार्बन परीक्षण लगायतका परीक्षणबाट यो स्थल इसापूर्व शुंग–कुषाणकाल अर्थात् १ सय २० देखि २०० इसापूर्वको अर्थात आजभन्दा २२ सय वर्ष पुरानो पुष्टि भएको पुरातत्वविद आचार्यले बताए । यो स्थल गुप्तकाल अर्थात् इसाको पाँचौँ शताब्दीसम्म कायमै रहेको र यस क्षेत्रमा पाँचौँ शताब्दीमा आएको शक्तिशाली भूकम्पले सबै ध्वस्त भएकोले खण्डहरमा परिणत भएको अनुमान फ्रेन्च भुगर्भविदसहितको एउटा टोलीले केही वर्ष अघिको अध्ययन भ्रमणमा गरेको बताइएको छ ।

पुरातत्वविद आचार्यका अनुसार यस स्थलको मूल भवनको उत्खनन अर्को साल पुरा हुने आशा प्रकट गर्दै पटक त्यसको उत्खननमा यसभन्दा अझ मुनी अझ अगाडिको कालको पुष्टि हुने संरचनाको सङ्केत पाइएको छ । यो संरचनाले भने यस स्थलको ऐतिहासिकता बुद्धकाल भन्दा पनि अगाडि जान सक्ने सम्भावना रहेको पनि उनको भनाई छ ।

तर, उनले यस पटकको उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकोले यी सबै रुख हटाउनु पर्ने, अहिले कायमै रहेको क्लबको हल हटाउनु पर्ने, पुरानो किचकबधको मूर्ति स्थानान्तरण गर्नु पर्ने, किचकबध स्थल भित्र सवारी साधन छिर्न कडाइका साथ रोक्नु पर्ने र संरक्षित ऐतिहासिक संरचनाको पनि संरक्षण हुने पर्ने आवश्यकता औँल्याएका छन् ।

२०५८ सालमा पहिलो पटक यस स्थलको उत्खनन पुरातत्त्व विभागले पुरातत्वविद आचार्यकै नेतृत्वमा गराएको थियो । यो पटक सातौँ उत्खनन हो । यो उत्खनन यही चैत १८ गते सम्म मात्र गरिने र एक दुई दिन यस क्षेत्रलाई प्लास्टिक छोपेर त्यसमाथि माटोले पुर्न लाग्ने भएकोले अहिलेको उत्खनन टोली चैत २४ भित्र फर्कने पुरातत्त्व अधिकृत नवीन अधिकारीले बताए ।

यसअघि २०३५ सालमा मेची क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाइ इतिहासका विद्यार्थीले उत्खनन गरेका थिए । त्यस वेला पुराना माटाका भाँडा, ठुला आकारका लुम्बिनीमा पाइएका जस्ता चेप्टा इँटालगायतका पुरातात्त्विक सामग्री फेला पारेका थिए । यो उत्खननको समाचार त्यस वेलाको गोरखापत्रमा छापिएपछि किचकबध स्थलमा पुरातत्त्व विभागको ध्यानाकर्षण भएको थियो । (समाचार स्रोत : चिन्तामणी दाहाल टाइम्स अफ प्रदेश )

Facebook Comments Box