शेरबहादुर विश्वकर्मा

काठमाडौँ। तत्कालीन जनयुद्धको समयमा देशका विभिन्न ठाँउबाट जेलब्रेक गर्ने २८ योद्धाहरु सम्मानित भएका छन् ।जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

राजधानीको प्रज्ञाभवनमा शनिबार भएको कार्यक्रममा धादिङ, गजुरी सैनिक हिरासत ब्रेक गर्नेहरू देवीप्रसाद ढकाल, बुद्धिप्रसाद पाण्डे, प्रकाश खनाल, राजु क्षेत्री, ठाकुर सिंह तामाराङ, कृष्ण पन्त (सेवक), बद्री खड्का (सहिद भैसकेका) लाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा सुर्खेत जेलब्रेकका योद्धाहरू झकबहादुर मल्ल, विष्णु चौधरी, पुष्पराज चौधरी (सहिद), दलवहादुर घर्ती, विकास गुरुङ (सहिद), विन्दमान विष्ट, लोकबहादुर चलाउने (निधन भएको), लोकजंग शाही, गणेश भण्डारी, रामबहादुर रसाइली, कृष्ण बडुवाल (निधन भएको), देवीराम देवकोटा, गोपाल कार्की, उज्ज्वल खड्का, चक्रबहादुर वि.क र रविन्द्र वयक रहेका छन् ।

त्यसैगरी गोरखा जेलब्रेक गर्ने योद्धाहरु उमा सी (शिलु), कमला नहर्की सपना, सञ्जु अमाले, रिता विक (कविता), मीना मरहट्ठा ज्योति (सहिद) का आफन्त र शकुन्तला विक एन्जिला (सहिद) का आफन्तलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, समाजवादी मोर्चा नेपालका संयोजक तथा नेकपा महासचिव विप्लवले उनीहरुलाई टीका, दोसल्ला र प्रमाणपत्रसहित आफुहरु जनयुद्धको मुल आदर्शप्रति दृढ रहेको र क्रान्तिका उपलब्धिको रक्षा गर्दै समाजवादी व्यवस्था निर्माण गरेर सहिद, घाइते, बेपत्ता योद्दा र जेलब्रेकरहरुको सपना पूरा गर्ने दिशामा अगाडि बढेको बताएका थिए ।

त्यस्तै सम्मानित हुने योद्धाहरुको तर्फबाट हेटौंडाबाट जेल ब्रेक गरेका रामचन्द्र अधिकारीले समाजवादको सपना पूरा गर्न सबै माओवादी घटकहरुले इतिहासको समिक्षा गर्दै एकताबद्ध हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अनुभूतिसहित मन्तव्य राखेका राजु क्षेत्रीले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारीहरु अगाडि बढ्न नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी जनयुद्धलाई बदलिएको समय अनुसार पुनर्ताजगी गर्दै पार्टीलाई क्रान्तिकारीकरण गर्नुपर्ने बताए ।

सुर्खेत जेलब्रेकका योद्धा झकबहादुर मल्ल `सुदिप´ले जब जेलब्रेक सम्बन्धि कार्यक्रम गरिन्छ इतिहासको सम्झना हुन्छ र नयाँ उर्जा थपिन्छ भन्दै सबैतिर क्रुर राज्यदमन भएको बेलापनि जेलब्रेक जस्तो जोखिम लिन लक्ष्य प्रतिको निष्ठा र नेतृत्वप्रतिको विश्वासले प्रेरित गरेको बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् गोर्खा जेल ब्रेकको प्रमुख नेतृत्वकर्ता समेत रहेकी उमा सी शिलुले २४ बर्ष अघि भएको गोर्खा जेलब्रेकमा सहभागी ६ जना योद्दाहरु मध्ये २ जना सहिद भैसकेको स्मरण गर्दै जनयुद्धमा सहभागी भएर योगदान गर्न जेलभित्रबाट सुरुङ खनेर निस्कनु पर्छ भन्ने निष्कर्षमा पुगेको बताइन् ।

मन्तव्यको क्रममा उनले नेतृत्वप्रतिको वि्श्वाशस र उदेश्य प्रतिको प्रतिबद्धताले नै आफुहरुलाई जेलब्रेक गर्ने आट आएको र बिबेक, साहस र कलाको प्रयोग सहित जेल ब्रेक गरिएको भन्दै सामन्तवाद र साम्राज्यवादविरुद्ध विचार र कार्यक्रमको विकास गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी थिइन् ।

Facebook Comments Box