बुद्धशान्ति । धरान एफसीमाथि सहज जित हात पार्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मानेभन्ज्याङले आयोजक आदर्श युवा क्लबसँगको भेट पक्का गरेको छ ।

मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ को जित हात पारेको छ । खेल सुरु भएको ५ औं मिनेटमा नै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको ३१ औं मिनेटमा करण राईले डि बक्समा पाएको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको मानेभन्ज्याङले ४६ औं मिनेटमा अर्काे गोल थप्यो । करण राईको क्रस पासमा अनमार्क रहेका सुरज रसाइलीले गोल गर्र्दै मानेभन्ज्याङको जित सुनिश्चित गरे । खेलको ५५ औं मिनेटमा मानेभन्ज्याङका तुसार बिश्वकर्माले डि बक्स बाहिरबाट गरेको सोझो प्रहार गोलमा परिणत भयो । ६७ औं मिनेटमा मानेभन्ज्याङका लागि सुरज रसाइलीले गोलरक्षकसँग वान टु वानको वानको अवस्थामा गोल गरे ।

धरान एफसीले खेलमा एकमात्र सान्त्वना गोल फर्कायो । कप्तान तपन कार्कीले पेनाल्टी एरियामा पाएको बललाई गोल गर्न सफल भए । खेलमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको धरानले मानेभन्ज्याङको डिफेन्ससामु निरिह भएको थियो ।

खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका सुरज रसाइली घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए । भोलीको अन्तिम क्वाटरफाइनल खेल रेड हर्ष क्लब इलाम र बेलबारी एफसी मोरङबिच हुने आयोजक समितिका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Facebook Comments Box