झापा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत मिलेर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताको ४ महिनामै विभाजित भएको छ।

धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीबीच एकता भएर वैशाख १६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको थियोे ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य महेस सहित ४५ जना केन्द्रीय सदस्यले भदौ १६ गते पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएको चार महिना पुगेकै दिन ४५ जना केन्द्रीय सदस्यले विज्ञप्ति निकालेर पार्टीबाट अलग भएको घोषणा गरेपछि पार्टीमा थप जटिलता उत्पन्न भएको छ। काठमाडौँमा सम्पन्न भएको भेलामा ४५ जना केन्द्रीय सदस्य सो पार्टीबाट अलग हुने निर्णय गरेको र छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ।

पार्टीको केन्द्रीय सचिवालय सदस्य महेशले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा ठोस राजनीतिक कार्यदिशा नभएको, छदम संशोधनवाद, यथास्थिति, जडसूत्रीय विसर्जनवाद, गोलचक्रवाद, चरम गुट र पद प्रतिष्ठामा मात्रै नेतृत्व रुमलिएको निष्कर्षमा पुगेपछि हामी पार्टीबाट अलग भएका हौँ ।’

छदम संशोधनवादको दलदलमा फसेको नेतृत्वबाट क्रान्तिको बाँकी कार्यभार पूरा नहुने ठहरसहित आफूहरू पार्टीबाट अलग भएको महेशले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ ।

दलाल पूँजीवाद, दलाल संसदीय व्यवस्थाको अन्त्य, कथित एमसिसी सम्झौता खारेज गरी सर्वहाराको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापनाको कार्यदिशा अघि बढ्न महेशले विज्ञप्तिमार्फत आव्हान गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट अलग भएको घोषणा गरेमध्येका एक केन्द्रीय सदस्यले सशस्त्र क्रान्ति आफूहरूको अबको कार्यदिशा र लक्ष्य भएको बताए । उनले थप कुरा केही समयपछि स्पष्ट पारिने जनाए ।

Facebook Comments Box