मेचीनगर, साउन १ । झापाको मेचीनगर नगरपालिका स्थित वडा नम्बर -६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले पूर्वसूचना नै नदिई ग्राहकको खाताबाट प्रति सदस्य सात सयका दरले रकम कटौती गरेको खुलेको छ । यसअघि आफ्ना ग्राहकको खाताबाट रकम घटबढ हुँदा ग्राहकको मोबाइलमा म्यासेज पठाउने गरेको उक्त सहकारीले यसपटक भने आफ्ना ग्राहकलाई समेत जानकारी नै नदिइ खाताबाट रकम काटिएको पाइएको छ। संस्थाका सदस्यहरुले सामाजिक सञ्जाल मार्फत बिना जानकारी रकम काटेको भन्दै गुनासो गरेपछि रकम कटौती गरेको विषय खुल्न आएको हो ।

आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट रकम काटिएको थाहा पाएसँगै मेचीनगर १४ का डिल्लीराम उप्रेतीले आश्चर्य मान्दै संस्थाको चारआली स्थित ब्रान्चमा बुझ्दा त्यहाँका कर्मचारी समेत अन्योलमा पर्दै माथिबाटै काटिएको जवाफ दिएको उनले बताए ।

उनलाई खाताबाट रकम किन काटियो ? कुन प्रयोजनमा काटियो ? कुनै अत्तोपत्तो समेत थिएन। ‘सिस्टम अनुसार माथिबाटै काटिएको हो, विस्तृत हामीलाई पनि जानकारी नभएको र हामीले पनि एकैचोटी रकम काटेको मात्रै थाहा पाएका हौँ,’ भन्दै सम्बन्धित शाखाले यस्तो जवाफ फर्काएपछि उनी निराश बने। अहिले पनि उनी कुन प्रयोजनका लागि रकम काटियो भनेर अन्योलमा छन् ।

मेचीनगर १४ का उप्रेती मात्रै नभएर रकम काटिएको बारे अधिकांश सदस्यलाई जानकारी नै नभएको भन्दै सामाजिक सञ्जालमा संस्थाका सदस्यहरुले स्टाटस लेख्न र आलोचना गर्न थालेपछि यो बिषय अझै रहस्यमय बन्दै गएको छ । विशेष स्रोतका अनुसार हालै मात्र संस्थाका अध्यक्ष परिवर्तन भएर बसेको कार्यसमितिको बैठकले गुपचुप निर्णय गरेको र जसका कारण ग्राहकहरु मात्रै नभएर संस्थाका कर्मचारीलाई समेत यश विषयमा जानकारी नभएको पाइएको छ।

यसरी संस्थाले सुचना नै नदिई रकम काटेको गुनासो अहिले सामाजिक सञ्जालमा छरपस्ट बन्दै गएको छ भने संस्थाले के कति कारणले रकम काटेको हो भन्ने सम्म ग्राहकलाई संस्थाले आधिकारिक जानकारी नदिएको पाइएको छ।

‘आफ्नो खाताबाट रकम काट्दा हामीलाई थाहा हुनुपर्ने होइन ? किन थाहा दिइएन ?’ जानकारी नै नदिइ रकम काटेको बारे अहिले सयौं सदस्यहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्, । मेचीनगर ६ कै एकजना युवाले समेत आफुलाई थाहा नै नदिइ रकम काटेको र के प्रयोजनका लागि रकम काटियो भनेर कलेक्सनमा आउने कलेक्टरलाई सोध्दा उनले ‘मलाई नै थाहा छैन’ भन्ने जवाफ पाएको बताए ।
‘कलेक्टरलाई सोधेको थिएँ, उनले त मलाई नै थाहा छैन मेरै खाताबाट काटिएको छ भन्ने जवाफ पो दिइन्,’ उनले भने । प्रत्येक ग्राहकबाट यसरी रकम काट्दा ९–१० करोड रकम संस्थालाई प्राप्त हुने भएकाले उक्त रकम के मा खर्च हुन्छ ? कुन प्रयोजनका लागि प्रयोग गरिन्छ ? यसबारे सबैलाई जानकारी हुनुपर्ने तर, जानकारी नहुनु गम्भीर विषय रहेको उनको भनाई छ ।

संस्थाका सदस्य प्रेम चाम्लिङ राईले उक्त सहकारीले ५०००/- बराबरको सेयर नकाटे खाता बन्द गरिदिने धम्की दिएर जबर्जस्ती काट्न लगाएको आरोप लगाएका छन्,। उनले संस्थाले साधारणसभा समेत आफ्नो मान्छे मात्रै बोलाएर गर्ने गरेको आरोप लगाएका छन्,। अहिले सामाजिक संजाल मार्फत प्रश्न गर्दै आम सदस्यसँग प्रत्यक्ष जोडिएको विषयमा संस्थाले चाँडै जवाफ दिनुपर्ने सदस्यहरुको माग छ ।

यता यस विषयमा बुझ्दा संस्थाका कर्पोरेट प्रशासन विभाग, प्रमुख चेतन शर्मा पौडेलले सदस्य भलाइ कोषका लागि रकम काटिएको बताए । गतबर्षसम्म सदस्यको शेयर बोनसबाट काटिने गरेको बताउँदै यसपालि भने नीति परिमार्जन गरेर ग्राहकको खाताबाट काटिन थालेको उनले जानकारी दिए ।
रकम काटिने कुरा सदस्यलाई जानकारी नै नभएको सम्बन्धमा भने उनले संस्थाको बचाउ गर्दै मोबाइल नेटवर्कमा समस्या भएर संस्थाले पठाएको एसएमएस सदस्यसम्म नपुगेको बताएका छन् । ‘हामीले सबैलाई एसएमएस गरेर जानकारी दिएका हौँ, नेटवर्कका कारण सदस्यसम्म पुगिसकेको छैन । एसएमएस जाने क्रम चलिरहेको छ,’ उनले भने ।
सदस्यहरुबाट काटिएको उक्त रकम सदस्यहरुलाई नै विपद् पर्दा खर्च गरिने उनले जानकारी दिए । ‘मृत्यु लगायत अन्य विपदहरु पर्दा सदस्यहरुकै लागि यस रकम खर्च हुन्छ, यदि कोहि सदस्य यस कोषमा बस्न इच्छुक हुनुहुन्न भने एउटा निवेदन लेखेर दिनुपर्छ हामी रकम फिर्ता गरिदिन्छौँ,’ उनले भने ।

एनएमसीको पछिल्लो अद्यावधिक विवरण अनुसार संस्थामा एक लाख ५२ हजार सदस्य रहेको बताउँदै उनले ८० हजार सदस्यको खाताबाट यस कोषका लागि ७ सयका दरले रकम काटिएको जानकारी दिए । अन्य खातामा भने रकम नभएर नकाटिएको उनको भनाई छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *