प्रविण अधिकारी

झापा । पुर्वी सिमानाका काकडभिट्टामा रहेको मेची भन्सारबाटै करोड बढीको सामान राजश्व छली गर्दै नेपाल भित्र्याउन लागेको ना ६ ख ४९०२ नम्बरको  कन्टेनर सहित जिल्ला प्रहरी कार्यालय झापाले इप्रका काकडभिट्टाको समन्वयमा एउटा कन्टेनरलाई नियन्त्रणमा लिएपछि अहिले भन्सार कर्मचारी र एजेन्ट भित्र खैलाबैला मच्चिएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजना सहित निस्किएको कन्टेनरलाई झापा प्रहरीले नियन्त्रणमा लिएपछि अहिले त्यसलाई बैधानिक बनाउन स्वयं भन्सार कार्यालय नै लागि परेको पाइएको  छ।  राजश्व संकलनमा गिरावट आएको भन्दै सिमानाकामा साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेर सर्वसाधारणलाई सास्ती दिइरहेको उक्त भन्सार कार्यालयकै प्राङ्गणबाट लाखौं रुपैयाँ राजस्व छली गर्दै कन्टेनर बाहिरिएपछी आम सर्वसाधारण आक्रोशित बनेका छन्,। 

आम सर्वसाधारणका लागि १०० रुपैयाँ माथिका सामानमा कडाइका साथ अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको समयमा भन्सार कार्यलयकै मिलेमतोमा लाखौं राजस्व छली गरेर कन्टेनर बाहिरिएको स्थानीय बासिन्दाको आरोप छ।  मेची भन्सार कार्यालय परिसरबाटै जाँचपास भएर निस्किएको १ करोड १ लाख २७ हजार ५ सय मुल्य बराबरको सामान सहितको कन्टेनर प्रहरीले बरामद गरेपछि अहिले खैलाबैला नै मच्चिएको छ।

भन्सारबाट जाँचपास भएर लाखौं कर छली गर्दै  निस्किएको कन्टेनरलाई अहिले बैधानिक बनाउन भन्सार कार्यालयले विज्ञप्ति नै जारी गरेको छ। प्रहरीका अनुसार शुक्रबार साँझ ५:५५ बजेको समयमा भन्सारको दुई नम्बर गेटबाट ना ६ ख ४९०२ नम्बरको कन्टेनर बाहिर निस्कियो। कन्टेनर निस्किएपछि प्रहरीले त्यसलाई पच्छ्याउन थाले। भन्सारदेखि केही पर पुग्दा प्रहरीले पछ्याएको चाल पाएपछि चालकले कन्टेनरलाई मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैको फायरिङ चोक सडक किनारमा साइड गरेर चाबी छाडेर  एकाएक बेपत्ता भए।

प्रहरी टोली कन्टेनरको चालक आउँछ भनेर पर्खिबसे। दुई घण्टा बितिसक्दा पनि चालक नआएपछि त्यहाँ खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीलाई घटनास्थल बोलाए।

त्यसपछि डीएसपी भारतीको नेतृत्वमा कन्टेनरलाई राती ९ बजे इलाका प्रहरी कार्यालय काकडभिट्टाको प्राङ्गणमा ल्याइएको थियोे । कन्टेनरको चालक बस्ने सिटमा प्रहरीले एउटा गेट पास मात्रै फेला परेको जानकारी गराएको थियोे ।

तर प्रहरीले नियन्त्रणमा लिएको झण्डै १५ घण्टा बितिसक्दा पनि उक्त सामानका धनि को हुन् भनेर प्रहरीले समेत पत्तो नलागेको बतायो भने अर्कोतर्फ सामानको दाबी गर्न पनि कोही आएनन्,। प्रहरीले उक्त कन्टेनर खोलेर चेकजाँच गर्दा कन्टेनरमा  ७ लाख २० हजार बराबरको हुक्कामा प्रयोग हुने कोकोजेल चारकोल ६० कार्टुन , २० लाख मूल्य बराबरको अफजोल फ्लेभर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको काँचको झ्याम्टा २ हजार ४ सय ६५ केजी , १२ हजार ५०० मुल्य बराबरको टेलिफोन साबुन २५ कार्टुन गरि १ करोड १ लाख २७ हजार ५ सय बराबरको सामान रहेको र ट्रकको अन्दाजी मुल्य २० लाख गरि जम्म १ करोड २१ लाख २७ हजार ५ सय बराबरको सामान  राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो ।

तर त्यसपछि भने घटनाले नयाँ मोड लियो । कन्टेनर नियन्त्रणमा आएको झण्डै २४ घण्टा पुगिसकेको अवस्थामा र सम्बन्धित धनी समेत पत्तो नलागेको अवस्थामा मेची भन्सार कार्यालयका सुचना अधिकारी तथा भन्सार अधिकृत पुर्ण प्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त ट्रक नेपालतर्फबाटै खाली अवस्थामा भन्सार प्रवेश गरेको र  सन्तोष खवास प्रोपाइटर रहेको स्वाभिमान सन्स एण्ड सप्लायर्सको रहेको उल्लेख गरे। उनका अनुसार उक्त सामान काकडभिट्टा सम्म लैजाने गरी भन्सार एजेन्ट ढेकेन्द्र कार्कीबाट  उक्त मालवस्तुको १ लाख ५६ हजार ७ सय ९० रुपैयाँ भन्सार महसुल बुझाएको विज्ञप्तिमा  उल्लेख छ।  भने यो प्रेस विज्ञप्ति सँगै  प्रज्ञापन पत्र समेत सार्वजनिक भएको छ । भन्सार एजेन्ट ढकेन्द्र कार्कीको नाम सहित स्वाभिमान सन्स् एन्ड सप्लायर्सले १५ ब्याग, २५ कार्टुन र ३० कार्टुन वस्तु भन्सार राजस्व बुझाएको  प्रज्ञापन पत्रमा लेखिएको प्रस्ट देखिन्छ। तर यो प्रज्ञापनपत्रमा उल्लेख गरिएको मालवस्तु र प्रहरीले कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दाको परिणाम भने फरक पाइएको छ।  

हाल भन्सारले उक्त सामान बैधानिक ढंगले बाहिरिएको दावी गर्दै सुचना जारी गरेको छ भने प्रहरीले उक्त मालवस्तु अबैध ढंगले भित्र्याउन लागिएको प्रमाणसहित एक करोड १ लाख २७ हजार ५ सयको सामान र २५ लाखको कन्टेनरसहित एक करोड २६ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाहीको  लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र प्रसाद रिजालले बताए।

‘सो कन्टेनर भन्सारभित्रबाटै बाहिर आएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै डीएसपी रिजालले भने, ‘प्रज्ञापनपत्रमा लेखिएको भन्दा धेरै सामान फेला पारेका छौँ, त्यो अवैध हो, कन्टेनर पनि शिलबन्दी थिएन, यस बारेमा थप अनुसन्धान गरिरहेका छौँ।’

व्यापारी स्रोतका अनुसार सो सामान धुलाबारीका व्यापारी पीयूषको रहेको बताए। भन्सारबाट सामान धुलाबारीसम्म पुर्‍याउने र त्यहाँबाट देशका विभिन्न बजारमा सप्लायर्स गर्ने व्यापारीको योजना थियो। व्यापारीले सो सामान भारतबाट आयात गरी भन्सारको गोदाममा ल्याएर राखेका थिए। एजेन्टमार्फत सेटिङ मिलाएर कम परिमाण देखाएर बढी परिमाणको सामान कन्टेनरमा हालेर लैजान खोज्दा प्रहरीले समात्यो।

यता मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले  आफू छुट्टिमा रहेको र उक्त कन्टेनर भन्सारबाट ननिस्किएको बताउँदै सत्यतथ्य छानबिन गर्ने बताएका थिए भने अहिले रेग्मीले  उक्त सामान व्यापारीले एजेन्टमार्फत १ लाख ५६ हजार भन्सारमा राजश्व तिरेर शुक्रबार बेलुका सो सामान कन्टेनरमा हालेर लगेको पाइएको बताएका छन्,। ‘कन्टेनरभित्र के कस्तो सामान थियो, त्यो हामीलाई थाहा छैन,’ उनले भने, ‘भन्सारले हुक्कामा प्रयोग हुन फेलेभर, काँसको झाम्टा लगायतको सामान राजश्व तिरेरै पठाएको हो।’ ‘काँकडभिट्टाकै स्थानीय व्यापारीको सामान भएकोले कन्टेनर शिलबन्दी गर्नुपर्दैन र गरिँदैन पनि,’ उनले भने, ‘काँकडभिट्टा भन्दा बाहिरका कन्टेनरको हकमा मात्र शिलबन्दी गरी पठाइन्छ।’ प्रहरीले समातेको कन्टेनर ट्रान्सपोर्टको रहेको बुझिएको छ। त्यस बारेमा प्रहरीले अनुसन्धान गर्दै होलान्। तर, भन्सारबाट गल्ती नभएको उनको दावी छ। 

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *