आज घटस्थापना: घर-घरमा जमरा राखिँदै

Byadmin

२८ आश्विन २०८०, आईतवार ०२:३२ २८ आश्विन २०८०, आईतवार ०२:३२ २८ आश्विन २०८०, आईतवार ०२:३२

झापा । हिन्दूहरुको महानपर्व बडा दशै आजदेखि नवरात्री अर्थात आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना प्रारम्भ भएको छ । नवरात्रीको पहिलो दिन आज घर–घरमा जमरा राखेर घटस्थापना गरिन्छ ।

आजदेखि नौ दिनसम्म नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ । आजकै दिन दसैँमा लगाउने जमरा राख्ने र  घट  कलशको स्थापना गर्ने गरिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *