काभ्रेपलान्चोक। सुन्दा पनि अचम्म लाग्छ, स्थानीय तहले थकान बिदा दियो भन्दा । तर काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले असोज ४ गते बिहीबार ‘थकान बिदा’ दिने निर्णय गरेको खबर आजको “गोरखापत्र दैनिक”ले छापेको छ।

कार्यालयले बुधवार सूचना जारी गर्दै नवौँ संविधान दिवसको अवसरमा नगरपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि तीन दिनदेखि निरन्तर खटिएको र उक्त क्रममा नगरका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि थकित भएका कारण बुधवार कार्यालय अन्तर्गतका सबै निकायको सेवा बन्द हुने जनाएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै बिहीबार नगरपालिका कार्यालयका साथै त्यस मातहतका कार्यालयहरू, विद्यालयलगायतका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संस्थाहरूलाई बिदा गरिएको उल्लेख छ । नवौँ संविधान दिवसको अवसर पारेर बुधवार बाजागाजासहितको र्यालीसहित बजार परिक्रमा गरी नयाँ भवनमा पूजाआजा गरी नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

नगरपालिकाले बुधवारबाट नयाँ भवनबाट सेवा सुरु गरे पनि राजनीतिक दलहरूलाई बेवास्ता गर्दै नयाँ भवनमा सर्ने निर्णय गरेको भन्दै केही जनप्रतिनिधिले कार्यक्रम बहिष्कार समेत गरेका थिए ।

Facebook Comments Box